Monday, September 23News That Matters

दिल्लीबाट ५९ यात्रु बोकेर उडेको विमानमा लाग्यो आगो

काठमाडौं । एयर इन्डियाको अलायन्स एयरको विमानमा आगलागी भएको छ । भारतको नयाँ दिल्लीबाट जयपुर जाँदै गरेको विमानमा सोमबार राति आगो लागेको हो ।

राति ८ बजे दिल्लीबाट जयपुरका लागि उडेको विमानको उडान भरेको केही समयमै ल्यान्डिङ गियरमा खरावी आएपछि दिल्ली विमानस्थलमा इमरजेन्सी ल्यान्डिङ गरिएको थियो ।ल्यान्डिङ गर्दा आगलागी भएको हो । तर ५९ यात्रु सकुसल छन् ।एयरलाइन्सका प्रवक्ताका अनुसार एआई ९६४३ नम्बरको विमानमा खरावी आएको र यात्रुहरु सबै सुरक्षित रहेका छन् ।

त्यस्तै दाङमा एनसेलको टावरमा आगजनी भएको छ । गए राति अज्ञात समूहले शान्तिनगर गाउँपालिका–५ रगैँचामा रहेको टावरमाथि आगजनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार टावरको जेनेरेटर र तारमा क्षति पुगेको छ ।

टावरमा नेत्रबिक्रम चन्द समूहले आगजनी गरेको हुनसक्ने उहाँको भनाइ छ । यस विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खिलतपुरको टोली त्यहाँ पुगिसकेको प्रहरी नायब उपरीक्षक शाहले बताउनुभयो ।

म्याग्दीमा १० हेक्टर खेतमा रोपाइँ भएन

यस वर्ष धान रोप्ने समयमा पर्याप्त पानी नपरेका कारण म्याग्दीमा अझै १० हेक्टर जमीन बाँझै छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीको मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको १० हेक्टर जमीनमा धान रोपाइँ हुनसकेको छैन ।

हालसम्म जिल्लाभर कूल तीन हजार ८८८ हेक्टर क्षेत्रफलको जमीनमा मात्रै धान रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको कूल क्षेत्रफल दुई लाख २९ हजार ७०६ हेक्टर रहेकामा कूल खेतीयोग्य जमीन ३० हजार ८५६ हेक्टर अर्थात् १३ दशमलव ४३ प्रतिशत मात्रै रहेको छ । त्यसमध्ये १९ हजार ४८३ हेक्टर अर्थात् आठ दशमलव चार प्रतिशत क्षेत्रफलमा खेती गरिएकामा तीन हजार ८९८ हेक्टर जमीनमा मात्रै धानखेती हुँदै आएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार बाढीपहिरो र भू–क्षयबाट ११ हेक्टर जमीन नोक्सान भएको छ भने एक हजार ६८१ हेक्टर अर्थात् आठ दशमलव छ प्रतिशत जमीन मात्रै बाह्रै महीना सिञ्चित हुने गरेको छ । यसैगरी चार हजार ३२५ हेक्टर अर्थात् २२ दशमलव एक प्रतिशत मौसमी सिञ्चित जमीन रहेकामा ७५ हेक्टर जमीन बाँझै छ ।

म्याग्दीका कूल कृषक परिवार सङ्ख्या २२ हजार ४८० रहेका कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । यसमध्ये तीन हेक्टर क्षेत्रफलको जमीन रियलस्टेटले ढाकेको छ । पछिल्लोे जनगणनाअनुसार म्याग्दीको कूल एक लाख १३ हजार ६४१ जनसङ्ख्यामध्ये ८९ हजार ९२० अर्थात् ८२ दशमलव दुई प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित छ । गत वर्ष कूल धानखेती हुने जमीन सबैमा खेती गरिएकामा यस वर्ष शून्य दशमलव पाँच प्रतिशत अर्थात् १० हेक्टर जमीन बाँझै रहेको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिनुभयो ।

धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा समेत छिट्टै रोपाइँ हुनुपर्ने भए पनि यस वर्ष समयमा पानी नपरेका कारण ढिलो रोपाइँ भएको थियो । समयमै पानी नपर्नु, सिँचाइको असुविधा, मनसुनको भर पर्नुपर्ने बाध्यताले गर्दा रोपाइँ नभएको किसान बताउँछन् । म्याग्दीमा मार्सी, लुम्ले, जेठोबूढो, गौरिया, गुडुरा, दर्माली, भट्टेलगायत जातको धानखेती गर्ने गरिएको छ ।