Monday, September 23News That Matters

अन्तर्राष्ट्रिय विमानस्थलमा नै हिंसात्मक अवरोध भएपछि, हङकङ विमानस्थलमा पहिलो पटक गोर्खाली सुरक्षाकर्मी तैनाथ,

सुपुर्दगी विधेयक विरोधी आन्दोलन विस्तार हुँदै गएर अन्तर्राष्ट्रिय विमानस्थलमा नै हिंसात्मक अवरोध भएपछि हङकङ सरकारले गोर्खाली सुरक्षाकर्मी परिचालन गरेको छ।हङकङको सुरक्षा क्षेत्रमा क्रस खुकुरी भएको गोर्खा ब्राण्डको ब्याज लगाएका गोर्खालीलाई विमानस्थलमा तैनाथ गरिएको यो पहिलो पटक हो।

अहिले एक सय ५० बढी गोर्खाली सुरक्षाकर्मी विमानस्थलमा अस्थायी रुपमा परिचालन भएका छन्।हङकङमा पहिले ब्रिटिश सैनिक र पछि स्थायी बासिन्दा भएर सुरक्षागार्डका रुपमा समेत काम गर्दै आएका गोर्खाली सुरक्षाकर्मी चर्चित छन्। अध्यागमन लगायतका सरकारी अड्डा, कर्पोरेट हाउस र ठूला व्यवसायीले गोर्खाली सुरक्षाकर्मीलाई विश्वास गर्ने भएकाले हङकङको सुरक्षा क्षेत्रमा नेपालीको पहिचान राम्रो बनेको छ ।

विमानस्थलमा आन्दोलनकारीको प्रदर्शन प्रहरीले समेत नियन्त्रण गर्न नसक्दा धमाधम उडान रद्द हुन थालेपछि अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्ने क्रममा गोर्खालीसहित स्थानीय चिनियाँ सुरक्षाकर्मी तैनाथ गरिएको हो। यो अस्थायी सुरक्षा परिचालन कहिलेसम्म हुन्छ भन्ने प्रष्ट छैन।विमानस्थलमा प्रदर्शन रोक्न उच्च अदालतले फेरि निषेधाज्ञा जारी गरेको छ भने गोर्खालीसहित थप सुरक्षाकर्मी परिचालन भएपछि विमानस्थल परिसरमा अहिले आन्दोलनकारी प्रवेश गरेका छैनन्।

वर्षमा साढे सात करोड यात्रु आवतजावत गर्ने हङकङ विमानस्थल विश्वकै व्यस्तमध्येको विमानस्थल हो, जहाँ ६५ हजार कर्मचारी काम गर्छन्। समुद्रमाथि रहेको यो विमानस्थल निर्माणमा केही वर्षअघि मुख्यगरी हङकङका नेपालीलाई नै संलग्न गराइएको थियो र अहिले तेस्रो रनवे निर्माणमा पनि दर्जनौं नेपाली संलग्न छन्।आन्दोलनकारीले अघिल्लो साता हङकङ अन्तर्राष्ट्रिय विमानास्थल चेप लाप कोक परिसरमा ५ दिनसम्म कब्जा जमाएर अवागमनमा अवारोध पुर्याएका थिए। त्यसबेला एक हजार बढी उडानहरू रद्द भएका थिए भने विमानस्थलमा केही हिंसात्मक झडप समेत भएको थियो।

विश्वको एकदमै व्यस्तमध्येको हङकङ विमानस्थल अवरुद्द भएपछि संसारभर तरंग फैलिएको थियो। हङकङ आउने विश्वभरका पर्यटक र व्यवसायीले धमाधम यात्रा रद्द गरेपछि सरकार ठूलो दबाबमा परेको थियो।हङकङको उच्च अदालतले १४ अगस्ट, बुधबार विमानस्थलमा आन्दोलनकारीले गरेका गतिविधि गैरकानुनी ठहर गर्दै आन्तरिम आदेशमार्फत निषेधाज्ञा जारी गरेको थियो।त्यहि दिनबाट विमानस्थलले अतिरिक्त सुरक्षाकर्मी परिचालन गर्ने क्रममा स्थानीय चिनियाँसहित गोर्खाली सुरक्षाकर्मी तैनाथ गरेको हो।

हङकङ विमानास्थलमा एभिएसन सेक्युरिटी कम्पनी लिमिटेडका चार हजार एक सय भन्दा बढी सुरक्षाकर्मी छन्, जसले नियमित सुरक्षा व्यवस्था गर्दै आएका छन्।विमानस्थलमा अस्थायी रुपमा परिचालन गरिएका करिब एक सय ५० गोर्खाली सुरक्षाकर्मी सबै यसअघि सुरक्षा क्षेत्रमा काम गरेका अनुभवी र सुरक्षा लाइसेन्स प्राप्त व्यक्ति हुन्। नेपाल खबर बाट