Monday, September 23News That Matters

धेरै पछि समाजले अशल हिरो पाएको छ – प्रेम बानियाँ

अक्सर समय सुल्टै हिँड्छ, जनता सुल्टै हिँड्न चाहन्छन् र परिवर्तन पनि । तर जब समयलाई/जनतालाई/परिवर्तनलाई झ्यालढोका थुनेर ‘तँ एक पाइला अगाडि नबढ्’ भन्दै तिनको गति रोक्ने काम हुन्छ तब यस्तै उकुसमुकुसहरुबाट यस्तै ‘अनपेक्षित’ तस्वीर सार्वजनिक हुन्छ !

यो पनि न्यायको प्राकृतिक सिद्धान्त हो ।२००७ सालयताकै लामो उकुसमुकुसमा छ देश, समयलाई थुन्ने काम भइरहेको छ, जनतालाई ‘एक पाइला अगाडि नबढाउनू बढाइस् भने …’ भन्ने काम भइरहेको छ र परिवर्तनलाई ‘साङ्लो’ लाएर बाँध्ने हर्कत भइरहेको छ जसको नेतृत्व हरेक क्षेत्रको तत्तत् वर्तमान नेतृत्वले गर्दै आएको/गरिरहेको छ ।

चरम निराशा छ जनतामा, यतिसम्म कि कसैमा थोरै मात्र आशा देखिए पनि उस्लाई ‘समातेर माला लाइदिनुपर्ने’ अवस्था छ । रबिजीमा जनताले त्यही देखे, माला लाइदिए !कुलमान घिसिङमा देखे, लाइदिए ! धुर्मश-सुन्तलीमा देखे, लाइदिए !

अरु-अरु पनि …. किनकी जनतामा खुब तिर्खा छ, भोक र प्यास छ कि तिनलाई कोही साँच्चिकै ‘हिरो’ चाहिएको छ, साँच्चिकै परिवर्तन चाहिएको छ ! त्यस्तो ‘हिरो’ जस्ले जनताको पिरमर्का वास्तवमै बुझिदेओस्/सम्वोधन गरिदेओस् ! यस्तै एउटा मान्छे ‘हिरो’ खोज्दै जाँदा आज रबिजीको काँधमा माला परेको हो !

जनताले हेर्नेछन्, पर्खिनेछन् रबिलाई र उसको आगामीकर्मलाई ! राम्रो भए त राम्रै भयो नत्र फेरि अर्को मान्छेको खोजी गर्नेछ समाजले । एउटा असल हिरो खोजिरहेछ समाज, जसको तस्वीर गर्वसाथ छातिमा टाँसेर हिँड्न सकियोस् !यो समाजले एउटा असल हिरोको खोजी गरेको धेरै-धेरै भयो !!!!

र, इतिहासकै यो गम्भीर सत्यलाई स्वीकार्न तयार नहुने हो भने सुल्टै हिड्न खोज्दाखोज्दै पनि जनता, समय र परिवर्तनले उल्टो बाटो हिँडिदिनसक्छ । यो असाध्यै गम्भीर र विशेष परिस्थिती हो अनि रबिजी एक पात्र ।

रबिजी संयम्तापूर्वक, बहुत बलियो आधार बनाएर मात्रै है..
रापिएको फलामलाई त्यतिवेला मात्रै अर्को फलामले हिर्काउनू जतिवेला त्यसको आकार बदल्न सकियोस् । जय स्वाभिमान !